काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक, तराई पोष्टका प्रतिनिधि र प्रकाशकसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।
अख्तियारले नगरपालिकाको विज्ञापन छपाईमा अनियमिता गरेको भन्दै फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव, तत्कालीन सह-लेखापाल नविन कुमार यादव र तराई पोष्टका प्रतिनिधि ओम प्रकाश यादवविरुद्ध २ लाख १२ हजार २२५ अनियमिता गरेको आरोप लगाएको छ भने जनसवाल पब्लिकेशन प्रा.लि.तथा उक्त कम्पनीका सम्पादक रामजी बगालेविरुद्ध एक लाख ७२ हजार ८२५ अनियमितता गरेको आरोप लगाएको छ । त्यस्तै तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेलविरुद्ध ३९ हजार ४०० अनियमितता गरेको आरोप लगाएको छ ।
अख्तियारले पत्रिकामा बोलपत्र प्रकशित गर्ने भनेपनि सो दिनको पत्रिकाको रेकर्डमा बोलपत्र प्रकाशित भएको नदेखिएको तर सो बमोजिमको भुक्तानी लिएको आरोप पत्रमा उल्लेख छ ।












