भरतपुर । आँपटारीस्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा कोटिहोम महायज्ञ सुरु भएको आइतबार एक महिना पुरा भएको छ ।
गत वैशाख १७ गतेदेखि सुरु भएको कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म चल्नेछ । महायज्ञ दर्शन गर्न पुग्ने भक्तजनको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । प्रधानसेनापति र बागमती प्रदेशका मुख्यमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुले पनि महायज्ञको दर्शन गरी पूजाअर्चना गरेका छन् ।
जारी कोटिहोम महायज्ञमा शनिबारदेखि भजन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ४० भन्दा बढीले टिम दर्ता गराएका छन् । हरेक दिन समूह चरणको प्रतियोगिता भइरहेको छ । समूह चरणबाट छनौट भएका टिमलाई यहि जेठ ३० गते हुने फाइनल चरणमा सहभागी गराइने प्रतियोगिताका संयोजक अर्जुन सापकोटाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले २० हजार, दोस्रो हुने टिमले १५ हजार, तेस्रो हुने टिमले १० हजार र सान्त्वना हुने दुई टिमले सात–सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी सबै टिमले प्रमाणपत्र र खैजडी उपहार पाउने छन् ।
राष्ट्र शान्ति र विश्व शान्तिकोे कामना गर्दै श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ गरिएको हो । नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन आगामी असार ६ गते र पाँचसरे सवा करोड दीप प्रज्वलन असार ८ गते गर्ने तय भएको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनीधि भारद्वाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।











