चितवन । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।
खाद्य स्वच्छता दिवसको अवसर पारेर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जेठ १८ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ ।
दिवसको अवसरमा सरकारी कार्यालय र अस्पतालका क्यान्टिनमा अनुगमनदेखि विद्यालय स्तरीय खाद्य स्वच्छता, गुणस्तर तथा पोषण सम्बन्धि सचेतनाका कार्यक्रम गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोद चन्द्र पौडेलले जानकारी दिए । क्यान्टिनमा भेटिएका न्युन गुणस्तरीय तेल र रंगीन तथा पत्रपत्रिकामा पोको पारेर राखिएका खाद्य वस्तुहरु नष्ट गरिएको उनले बताए ।
उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना र डिभिजन कार्यालयको सह आयोजनामा सचेतनाका कार्यक्रम गरिएको हो । यसअघि रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा संचालनमा रहेका विभिन्न फलफूल बजार तथा गोदामहरुमा राइपनिङ एजेन्ट्सको प्रयोगको सर्भिलेन्स तथा नियमन गरिएको थियो ।
सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो। विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वमा अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ। प्रत्येक १० जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी र दुई लाख ३० हजार मानिसको मृत्यु हुन्छन्।
विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो । नेपालमा विसं २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको हो।










