चितवन । पश्चिम चितवनमा जारी ‘पिएफसी इमर्जिङ कप–२०७९’ को क्वार्टरफाइनलका खेलहरु सकिएका छन् । मंगलबार सोमेश्वर माध्यमिक विद्यालय र आदिकवि भानुभक्त माध्यामिक विद्यालय विजयी भए संगै क्वार्टरफाइनलका खेलहरु सकिएका हुन् । सोमेश्वर माध्यमिक विद्यालयले नारायणी नमुना माध्यमिक विद्यालयलाई २–१ र आदिकवि भानुभक्त माध्यमिक विद्यालयले सनराइन स्कुललाई पेनाल्टीमा ३–२ ले जित हाँसिल गरेको थियो ।
सोमबारको क्वार्टरफाइनल खेलमा अमर माविले चतुर्मुखी मावि शक्तिखोरलाई १–० र सोनाम जीव एकेडेमीले ब्राइटस्टार आवासीय मावि पटिहानीलाई २–० ले हराएको थियो । विहिबार हुने सेमिफाइनल खेलमा अमर मावि र आदिकवि भानुभक्त मावि तथा सोनाम जीव एकेडेमी र सोमेश्वर माध्यमिक विद्यालयले फाईनलको लागि प्रतिस्पर्धा गर्ने छन् ।
भरतपुर १४ को सुन्दरवस्ती खेलमैदानमा ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले प्रतियोगितामा चितवनका ३२ माध्यमिक विद्यालय सहभागी रहेको जानकारी दिए।
क्लबका सचिव सुमन पौडेलका अनुसार विजेता टिमले ४० हजार, उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। पौडेलका अनुसार सेमिफाइनल पुग्ने दुई टिमलाई नगद पाँच–पाँच हजारसहित अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहितको पुरस्कृत गरिनेछ।














