चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर राम्रो काम गरे कांग्रेसको आफै भोट बढ्ने बताएका छन् । सरकारले डेलिभरी दिन सक्नुपर्ने भन्दै उनले सरकारमा बसेर भोट घट्यो भन्न नमिल्ने बताए ।
एक कार्यक्रममा बोल्दै थापाले कांग्रेसको परिवर्तन र रुपान्तरणको एजेण्डामा शेखर कोइरालासँगै उभिएको बताउँदै अब सरकारमा बसेर ‘डेलिभरी’ दिन सक्नुपर्नेमा जोड दिए।
‘अहिले यहाँ सरकार बन्नेबारे धेरै कुरा भइसकेको छ’, थापाले भने ‘सरकार गठबन्धनकै बन्ने निश्चित छ तर अब हामीले बनाउन चाहेको सरकार कस्तो हो ? हामीलाई एक थान सरकार चाहिएको हो कि प्रष्टता, प्रतिबद्धता र क्यारेक्टर भएको नेतृत्वसहितको सरकार चाहिएको हो ?’
अब बन्ने सरकार किन र केका लागि भन्ने कुरा मा प्रष्ट उभिएको हुनुपर्ने उल्लेख गर्दै थापाले भने, ‘एउटा दृश्य छ अब नेताहरू भित्र–भित्र तमसुक गर्छन्, पछि गएर बबण्डर बन्छ । सरकार बन्छ, कुनै उद्देश्य हुँदैन, केही संवेदना हुँदैन। यस्तो भयो भने के अर्थ हुन्छ ?’
उनले थपे ‘त्यो नेतृत्वले आफ्ना सबै सीमाहरु बुझेको हुनेछ। सरकारसँग शक्ति, समय र स्रोतको सीमा हुन्छ भन्ने सत्य बुझेको हुनेछ। त्यो नेतृत्व तयार छ। देश बिग्रियो भनिरहने, हामी बदल्छौं भन्दा बाबुहरुको उमेर कति भयो भनेर सोध्ने ? यसरी बन्छ देश ?’














