सुनिता सुवेदी
चितवन । जाजरकोटका सुरेश विक्रम शाही राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), जैविक विविधता संरक्षण केन्द्र सौराहामा वन्यजन्तु प्राविधिकको रुपमा पछिल्लो ३ वर्षदेखि कार्यरत छन् । २२ वर्षीय शाही एनटिएनसीमा काम गर्ने देशभरकै कान्छा वन्यजन्तु प्राविधिक हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेका अनुसार देशभर नौ वटा एनटिएनसीमा करिब २५ जना वन्यजन्तु प्राविधिक छन् । एनटिएनसीको जैविक विविधता संरक्षण केन्द्र सौराहामा भने १० जना वन्यजन्तु प्राविधिक छन् । शाही पछिल्लो ब्याचका कान्छा वन्यजन्तु प्राविधिक भएको लामिछानेले जानकारी दिए ।
विद्युत् प्राधिकरणमा प्राविधिकको काम गरिरहेका उनलाई सौराहाको एनटिएनसिमा विज्ञापन खुलेको थाहा पाएपछि एक चोटी प्रयास गर्नुपर्यो भन्ने लाग्यो । १६ वर्षको उमेरदेखि थालेको विद्युत् प्राधिकरणको काम छाडेर चार वर्षअघि उनी सौराहा आए । तालिमको सुरुवाती दिनमा उनलाई वन्यजन्तुको उद्धार गर्ने काम चुनौतीपूर्ण लागेको थियो । यहि काममा भिझ्दै गएपछि आजकल रमाइलो लाग्न थालेको उनी बताउँछन् । सानो उमेरदेखि नै वन्यजन्तुको संरक्षणको क्षेत्रमा काम गर्न पाएकामा उनी आफैले आफैलाई भाग्यमानी ठान्छन् ।
पूर्व वनमन्त्री शक्ति बस्नेतको घर र उनको घर नजिकै हो । पूर्व मन्त्रीकै कारण जागिरको अवसर बारे आफुलाई थाहा पाएको उनले बताए । जागिर गर्न उनी र उनका अंकल जाजरकोटदेखि चितवन आएका थिए । उनका अंकल लालबहादुर महतराले उद्धार गरेर ल्याइएका गैंडाका केटीहरुको संरक्षण गर्दै आएका छन् । उनी भने जंगलमै गएर हिंस्रक जनावरको उद्धार गर्ने गरेका छन् ।
जनावरको उद्धार गर्ने काम सुरु गर्नुअघि उनले तीन महिनाको तालिम लिए । अब जिन्दगीभर वन्यजन्तुकै संरक्षणमा लाग्ने उनको अठोट छ । तालिममा उनलाई बोटविरुवा र जनावर संरक्षणको बारेमा सिकाइन्थ्यो ।
उनी अजिङ्गर, विभिन्न किसिमका सर्प, गैंडा, बाघ र गिद्धको उद्धार टोलीमा रहेर काम गर्दै आएका छन् । वन्यजन्तु उद्धारका टिमले विशेषत मान्छेलाई आक्रमण गर्ने जनावर र विभिन्न कारणले घाइते जनावरको उद्धार गर्ने गर्दछन् । सर्प उद्धारमा एक्लै सहज भएतापनि ठूला जनावरहरु उद्धारमा भने चुनौती हुने गरेको उनी बताउँछन् ।
‘कसैको घर, होटल वा क्षति पु¥याउने ठाउँमा सर्प गएको अवस्थामा हामीलाई फोन आउँछ’, उनले भने, ‘त्यसपछि हामी गएर सर्पको अवस्था हेरेर उद्धार गर्छौँ । सानो र अविशालु सर्प रैछ भने त हामीले यत्तिकै छाड्दिन्छौँ । ठूलो र विशालु सर्पको हकमा भने त्यसको सुरक्षित वासस्थानमा लगेर छाड्दिन्छौँ ।’

उनी बाघको उद्धार गर्न पनि गएका छन् । बाघलाई नियन्त्रणमा लिन सुरुमा डार्ट गर्नुपर्छ । डार्ट गर्ने प्राविधिक छुट्टै हुन्छन् । लठ्याउने औषधी हालेर जनावरलाई डार्ट गर्ने गरिन्छ । डार्ट गरिसकेको बाघलाई बोकेरै सम्बन्धित स्थानसम्म पु¥याउने, एनटिएनसिमा ल्याइसकेपछि उपचार गर्नुपर्ने भएमा उपचार गरेर फेरि उसको हेरचाह गर्ने जिम्मा पनि आफ्नै हुन्छ । त्यसलाई दैनिक पानी, मासु दिनुपर्छ ।
‘आजकल त विशालुबाहेकका सर्प उद्धारमा म एक्लै पनि जाने गर्छु । गैंडा उद्धारमा एकपटक गएको छु । बाघ उद्धार गर्दा ३/४ पटक गएँ । गिद्धको संरक्षणका लागि साढे दुई वर्ष नै तालिम गरेँ’, उनले आफुले गरेका कामबारे बताए । काम गर्दै सिक्दै गर्दा वन्यजन्तुको उद्धार सहज बन्दै गएको उनी बताउँछन् ।
‘कहिलेकाँही काम गर्दै जाँदा गल्तीपनि हुन्छ । आजकल यसैमा रमाइलो लाग्छ । खासै गाह्रो लाग्दैन’, उनले भने । उनलाई एकपटक अजिङ्गरले टोकेको छ । अजिङ्गरको विष नहुने भएकोले खासै असर नगरेको उनले बताए । अजिङ्गरले टोक्दा घाउ भएपनि औषधी उपचारपछि निको भएको उनी बताउँछन् ।
भोलिका दिनमा एनटिएनसीमा जागिर गर्न छाडेपनि कुनै न कुनै माध्यमबाट वन्यजन्तुको संरक्षणमा लागिरहने उनको विश्वास छ । ‘अरु पेशामा काम गर्ने रुची छैन । यस अफिसलाई छोड्नु परेको खण्डमा जहाँ रहेतापनि वन्यजन्तुकै क्षेत्रमा काम गर्नेछु’, उनले भने । उनले हालसम्म करिब ५० वटा अजिङ्गरको उद्धार गरिसकेका छन् ।
निकुञ्जले गिद्ध संरक्षणका लागि कसरामा गिद्ध ह्याचिङ सेन्टर बनाएको थियो । उनले साढे २ वर्ष त्यसमै पनि काम गरे । उनले गिद्धलाई खानादिने देखि लिएर उसको हेरचाह समेत गरे । त्यतिबेला ह्याचिङ सेन्टरमा ६५ वटा गिद्ध थिए । गिद्धले अण्डा पार्ने तर चल्ला कोरल्न नसकेपछि अहिले गिद्धको संख्या शुन्य छ । कसरामा गिद्धले ‘ह्याचिङ’ गर्न नसकेपछि केहि गिद्धलाई नवलपरासी लगिएको हो । गिद्ध सिमलको रुख भएको ठाउँमा बस्छ । निकुञ्जभित्र कहिलेकाँहि गिद्ध त आउँछ तर रैथाने गिद्ध छैन ।

वन्यजन्तु उद्धार गर्ने क्रममा उनले थुप्रै अनुभव बटुलेका छन् । एकपटक बाघ उद्धारमा जाँदा डार्ट गरेपछि बेहोस भयो भन्ठानेर बाघलाई समाउन जाँदा बाघले टाउको जुरुक्क उठाएको उनीसँग एउटा किस्सा छ । ‘बाघको उपचार गर्नुपर्ने देखिएपछि उसलाई कसरामा डार्ट गरिएको थियो । अब बेहोस् भयो, स्ट्रेचरमा राख्न प¥यो भनेर उसको कान र आँखा छोप्न गएको जुरुक्क टाउको उठाइहाल्यो । त्यतिबेला हाम्रो त सातै गयो । तर उठ्न सकेन, फेरि सुत्यो’, उनले सुनाए ।
डार्ट गरेपछि बाघको कान र आँखा सेतो कपडाले छोप्ने गरिन्छ । उनी वन्यजन्तुलाई डार्ट गर्न सक्ने भइसकेका छैनन् । यद्यपी डार्ट गर्न पनि उनलाई सिक्ने रहर छ ।
वन्यजन्तु संरक्षण अति आवश्यक भएको उनको बुझाई छ । ‘जुनसुकै जनावरलाई हामीले केही क्षती नपु¥याउँदासम्म आक्रमण गर्दैनन् । तिनीहरुलाई अफ्ठ्यारो महसुुस भएपछि मात्रै हामीलाई आक्रमण गर्ने हुन्’, उनी भन्छन् । एनटिएनसिमा गैँडा, बाघ र चितुवाको लागि छुट्टा–छुट्टै इन्क्लोजरको व्यवस्था गरिएको छ । वन्यजन्तुको उपचारको लागि सौराहामा वन्यजन्तु अस्पताल समेत निर्माण गरिएको छ ।














