काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत ७ गतेदेखि सुरु हुँदै छ । चैत १९ गते सकिने एसइई परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा, संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद,नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ।
एसइई परीक्षाको सबै तयारी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र पुर्याउने लगायत सबै काम सकिएको बोर्डले बताएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै परीक्षा तयारी पूरा भइसकेको जानकारी दिए। ‘एसइई परीक्षाका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सकाएका छौँ, सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र,सिम्बोल नम्बर र उत्तरपुस्तिका पुगिसकेको छ’, उनले भने।
उनले यो वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले सहभागी हुने जानकारी दिए। ‘पहिला पाँच लाख ८ हजार भनिएको थियो तर पछि हामीले सबै तथ्यांक हेर्दा संशोधन भएर आयो’, उनले भने, ‘अब कुल पाँच लाख १४ हजार ७१ जनाले एसइई परीक्षा दिँदै छन्। यी सबै परीक्षार्थीहरूलाई परीक्षाको शुभकामना छ।’
बोर्डका अनुसार गत वर्ष २०८० सालको एसइईमा परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए।
एसइई परीक्षाको लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था हकमा केन्द्रमा जिल्लास्थित सुरक्षानिकायले मिलाउनेछ।
गत वर्ष उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए। जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। यो वर्ष पनि त्यहाँ परीक्षा केन्द्र तोकिएको छ।











