चितवन । चितवनमा विभिन्न छुट्टा–छुुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एकैदिन १० जना घाइते भएका छन् । हिजो (चैत १ गते) शुक्रवार पाँच वटा वटा दुर्घटनामा १० जना घाइते भएका हुन्, जसमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ ।
भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रवार बेलुका ८ः२० बजे वीरेन्द्र क्याम्पस चोकबाट पुलचोकतर्फ आउदै ना १ ज ६३४७ नम्बरको म्याजिकले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री भरतपुर–१० दिपेन्द्रचोक बस्ने वर्ष २२ को नरेश गुरुङ घाइते भए । मध्यम घाइते भएका गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने म्याजिक चालक रत्ननगर नगरपालिका–१० बस्ने वर्ष ४१ को सुमन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार बेलुका साढे ८ बजे भरतपुर–६ त्रिचोकमा गीतानगरदेखि चोक बजारतर्फ जाँदै गरेको बा प्र०३–००३ प १४९४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भए । मोटरसाइकल चालक बारा घरभई हाल भरतपुर–६ चोक बजार बस्ने वर्ष ३२ को मनोज चौधरी, सोही मोटरसाइकल पछाडि सवार निजको श्रीमती वर्ष ३५ की कान्ति चौधरी र पैदल यात्री चोकबजार बस्ने वर्ष २१ को दिक्षान्त पोख्रेल घाइते भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार दुई जना मध्यम घाइते भए भने पैदलयात्रीको अवस्था सामान्य रहेको छ । तीनै जनालाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
रत्ननगर नगरपालिका–१ जागरी टोलमा शुक्रवार बिहान १०ः३५ बजे भित्री बकुलहरबाट जागरी टोलतर्फ जाँदै गरेको ना २४ प ३६५९ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको बा प्र०३–००४ प १९०१ नम्बरको स्कुटरलाइ ठक्कर दिँदा तीन जना घाइते भए । स्कुटर चालक रत्ननगर–८ बस्ने वर्ष ३५ की बिन्दु महतो, सोही स्कुटर पछाडि सवार निज बिन्दु महतोको छोरा वर्ष ५ को जेशन महतो र सोही स्कुटर पछाडि सवार बर्ष ६८ की बकुल्ली महतो मध्यम घाइते भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक फरार छन् ।
भरतपुर–१० जेष्ठ नागरीक चोकमा शुक्रवार दिउँसो साढे २ बजे बा २ च ३८५५ नम्बरको कार र बागमती प्रदेश०३–००१ प ३४७४ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुई जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर–६ बस्ने वर्ष ५९ की मुना पौडेल र पछाडी सवार सोहि ठाउँ बस्ने वर्ष ७१ को लोकनाथ पौडेल घाइते भएका हुन् । दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने कार चालक खैरहनी–५ बस्ने वर्ष ५० को रुद्र प्रसाद शर्मा उनीहरुको उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ ।
त्यस्तै, राप्ती नगरपालिका–५ भण्डारामा शुक्रवार दिउँसो ३ः४० बजे बेल्डियाबाट भण्डारातर्फ आउँदै गरेको साइकललाई सोही दिशाबाट आउँदै गरेको बा १२ च ७७९ नम्बरको सुजुकी भ्यानले ठक्कर दिँदा साइकल यात्री जिल्ला धादिङ घरभई हाल राप्ती–५ बस्ने वर्ष २५ को राजकुमार प्रजा मध्यम घाइते भए । भ्यान चालक राप्ती–४ बस्ने वर्ष २३ को जोन तामाङलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।