चितवन । भरतपुर–६ खेलकुद विकास समितिको आयोजनामा वडा अध्यक्ष राष्ट्रिय भेन्ट्रान्स फुटबल प्रतियोगिता यहि फागुन २८ देखि चैत २ गतेसम्म हुने भएको छ । प्रतियोगितामा १० वटा टिमको सहभागीता रहने आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रथम हुने टिमले नगद एक लाख र द्धितिय हुने टिमले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने भरतपुर–६ खेलकुद विकास समितिका अध्यक्ष अरुण वन्तले जानकारी दिए ।
हरेक खेलको म्यान अफ दी म्याचलाई नगद दुई हजार, सर्वाेत्कृष्ट गोलकर्तालाई पाँच हजार र प्लेयर अफ दी टुर्नामेन्टलाई १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
भरतपुर–६ स्थित सिद्धेश्वर खेल मैदानमा हुने प्रतियोगिताको संरक्षक भरतपुर महानगरपालिका वडा नं ६ को कार्यालय र प्रबद्र्धक भरतपुर महानगरपालिका रहेको छ । प्रतियोगितामा भरतपुर–६, वीरगञ्ज युनाइटेड, पश्चिम चितवन भेट्रान, अभिषेक चर्च नवलपुर, पाल्मो होलिडेज ललितपुर, फ्रिडम फायटर काठमाडौँ, हेटौंडा भेट्रान, भरतपुर सिटी भेट्रान, बुटवल भेट्रान र जोरपाटी काठमाडौं सहभागी हुने वन्तले बताए ।
प्रतियोगिताको सह–प्रायोजक शुभप्रभात हाउजिङ र मिन्नानो एजुकेशन सेन्टर प्रालि रहेका छन् भने मेडिकल पार्टनरमा चितवन एभरेष्ट अस्पताल, इन्टरनेट पार्टनर चित्रवन युनिक केबल, फुड पार्टनर होटल रोयर व्याङ्क्वेट, हस्पिटालिटी पार्टनर लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट रहेका छन् । खेलका लाइभ स्ट्रिमिङ पार्टनर ‘खेल्छ नेपाल’ रहेको छ । जिल्ला बाहिरबाट आउने टिमले खानेबस्ने खर्च आफै व्यहोर्नुपर्ने आयोजकले बताएको छ ।
भरतपुर–६ का वडा सदस्य रुद्र अधिकारीले प्रतियोगिता सञ्चालन गर्न अपुग भएको रकम वडा कार्यालयले व्यहोर्ने बताए । प्रतियोगिता सम्पन्न गर्न आठ देखि १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । विजेता र उपविजेता टिमलाई दिने पुरस्कार राशिमा कुनै कर नलगााइने पनि उनले जानकारी दिए । पुरस्कारमा लाग्ने कर पनि वडा कार्यालयले नै व्यहार्ने उनले बताए ।
फिफा असिस्टेन्ट रेफ्री प्रकाश अधिकारीले ‘आठ ए साइड’मा प्रतियोगिता हुने बताए । एउटा टिममा आठ जना खेलाडी रहन पाउनेछन् । जसमा ४० वर्षदेखि ४५ वर्ष उमेर समूहको तीन जना, ४५ वर्षदेखि ५० वर्ष उमेर समूहको चार जना र ५० वर्षमाथिको एक जना खेलाडी सहभागी हुन पाउने उनले बताए । उमेरको पुष्टि आधिकारीक परिचय पत्रका आधारमा हुनेछ ।