चितवन । पछिल्लो समय स्थानीय तहमा फौजदारी अपराधका घटनाहरु न्यायीक निकायमा नपुगी स्थानीय स्तरमा नै मेलमिलाप हुने अवस्था बढ्दै गएपछि भरतपुर महानगरपालिका–६ का स्थानीय अगुवा महिलाहरुलाई घटना व्यस्थापन सम्बन्धी प्रशिक्षण दिइएको छ ।
भरतपुर–६ नम्वर वडा कार्यालय र सामाजिक संस्था हाम्रो भरोसा नेपालको संयुक्त आयोजनामा स्थानीय अगुवा महिला तथा सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सामाजिक नेतृत्व विकास कार्यक्रम सम्पन्न गरिएको हो ।
भौतिक पुर्वाधारको विकाससँगै मानविय विकास र समाजमा हिंसा न्युनिकरणका लागि वडाले महिला लक्षित कार्यक्रमलाई बिशेष प्राथमिकतामा राखेको वडा अध्यक्ष कृष्णलाल श्रेष्ठले बताए ।
कार्यक्रममा वडा स्तरीय आमा समुह संजालका पदाधिकारी तथा सदस्यहरु, टोल स्तरीय आमा समुहका प्रतिनिधिहरु, स्थानीय प्रहरी, मेलमिलाप समितिका सदस्य, महिला स्वयम्सेविका लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रका प्रहरी निरीक्षक निलम तामाङ तथा ईलाका प्रहरी कार्यालय गितानगरका प्रमुख मिना देवि राईले प्रहरीमा पछिल्लो समय आउने हिंसाका घटना र न्यायीक प्रकृयाका साथै लिखित सहमती, मेलमिलाप, अदालतमा मुद्दा दर्ता प्रकृया लगायतका विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा सामाजिक अभियन्ता इन्द्रराज भट्टराईले यौनजन्य हिंसा र मानव बेचविखनको अवस्था साथै सामाजिक न्याय र सरोकारवालाको भुमिकाका विषयमा प्रशिक्षण दिएका थिए ।
अधिबक्ता श्रीराम दवाडीले घटना व्यवस्थापनका लागि कानुनी प्रकृया, प्रहरी अदालत, स्थानीय तहसँग सम्बन्धित घटना र कानुनी प्रक्रिया साथै महिला हिंसाका घटनामा प्रभावित र आरोपितको गोपनीयताको संरक्षण लगायतका बिषयमा र हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकाल र पत्रकार प्रतिमा सिलवालले हिंसाको स्रोत, महिलाहरु हिंसामा बढी पर्नुको कारण, साथै पछिल्लो समय हिंसाको बदलिँदो स्वरुपको बिषयमा प्रशिक्षण दिए ।
कार्यक्रमको समापन सत्रमा अन्तर्राष्ट्रिय महिला दिवस बिशेष अन्तरक्रिया र स्थानीय महिलाहरुको मागमा आधारित कार्यक्रम साथै हिँसा न्युनिकरणका लागि आगामी कार्यदिशा तय गर्ने उद्धेश्यले बिशेष छलफल गरिएको थियो ।
छलफलका क्रममा सहभागीहरुले वडा भित्रका प्रत्येक आमा समुहमा पुरुषको समेत सहभागीतामा हिंसा न्युनिकरण र सचेतना कार्यक्रम आयोजना गर्न सबैले आ–आफ्नो ठाँउवाट सक्दो पहल गर्ने निष्कर्ष निकालेका छन् । घटनाको प्रकृति हेरेर हिंसाका घटनाहरु व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत सहभागीहरुले व्यक्त गरेका छन् ।
हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको अध्यक्षता एवम् कार्यवाहक वडा अध्यक्ष रुद्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन सत्रमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, प्रेस युनियन चितवनका जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका निर्वाचन आयोग उपाध्यक्ष नवराज ढकाल, महिला गैर सरकारी संस्था महासंघका वागमति प्रदेश प्रतिनिधि लक्ष्मि लामिछाने लगायतको सहभागीता रहेको थियो ।











