चितवन । राजतन्त्रको एजेण्डा बोकेको राष्ट्रवादी नागरिक समूह चितवन–नवलपुरले भरतपुरमा बृहत मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको छ । फागुन २४ गते बिहान ११ बजे भरतपुरको पारस बसपार्कमा जम्मा भएर मोटरसाइकलमा चौविसकोठी–पुलचोक–आँपटारी हुँदै बाइपास रोड भएर पुनः पारस बसपार्कमा जम्मा हुने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
राष्ट्र जोगाउनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई समर्थन गर्दै मोटरसाइकल र्याली गर्न लागिएको राष्ट्रवादी नागरिक समूह चितवन–नवलपुरले बिहीवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । र्यालीमा नवलपुर र चितवनबाट गरी करिब पाँच हजार मोटरसाइकल सहभागी हुने कार्यक्रमका संयोजक मेगराज पौडेलले बताए । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले राष्ट्र जोगाउन आफुहरुलाई साथ दिन नागरिकहरुलाई अपिल गरेका थिए ।
‘र्यालीमा सहभागी हुनका लागि हामी सबै राष्ट्रवादी जनसमुदायलाई आह्वान गरेका छौँ’, नागरिक बचाउ महाअभियान नारायणी अञ्चलका प्रवक्ता पौडेलले भने, ‘राष्ट्र जोगाउने बेला भएको र त्यसका लागि आफुलाई साथ दिन भनि पूर्वराजा ज्ञानेन्द्र शाहबाट सार्वजनिक आह्वान भएको अवस्थामा त्यो आह्वानलाई समर्थन गर्दै मोटरसाइकल र्याली गर्न लागिएको हो ।’ मोटरसाइकल र्यालीमा राष्ट्रवादी तथा देशभक्त नागरिकहरु स्वतःस्फुर्त रुपमा आफ्नो सवारी साधन लिएर सहभागी हुने उनले बताए ।
विगतमा आफु पनि गणतन्त्र पक्षधरको व्यक्ति भएको बताउँदै उनले अब गणतन्त्रले देशलाई निकाश दिँदैन भन्ने कुरामा स्पष्ट भएको बताए । गणतन्त्रमा नेताहरुले देशको इज्जत र गरिमालाई माटोमा मिलाएको उनले आरोप लगाए ।











