चितवन । पूर्वपश्चिम राजमार्गमा मैदा र सिमेन्ट लोड गरिएको दुईवटा ट्रकले पालैपालो ठक्कर दिएका साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–८ भिसुवा घर भई हाल जिल्ला राप्ती नगरपालिका–१ बस्ने अन्दाजी ४३ वर्षीय सन्तोष सराफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार राती करिब ८ बजेको समयमा राप्ती–१ ड्राइभर टोलमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ०५३६ नं.को मैदा लोड गरिएको ट्रकले ठक्कर दिई लडेको अवस्थामा पुन सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३०१३ नं.को सिमेन्ट लोड गरिएको ट्रकले सराफलाई ठक्कर दिएको थियो । ठक्करबाट दुवै खुट्टा र पेटमा चोट लागेर गम्भिर घाइते भएका उनको उपचारको क्रममा बुधबार राती नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै ट्रक चालक मनहरी–८ बस्ने वर्ष वर्ष ३२ को आशिष तामाङ र हेटौडा–१६ बस्ने वर्ष २२ को समिर विश्वकर्मा र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन् ।











