कुलप्रसाद काफ्ले
सौराहा । अपराध गरेपछि मान्छेलाई कारागारमा राखेजस्तै, मान्छे खाएर अपराध गर्ने बाघलाई पनि खोरमा थुनेर ‘कैद सजाय’ दिइन्छ । अपराधको प्रकृति हेरेर निश्चित समयपछि अपराधि मान्छे कारागारबाट मुक्त हुन्छन् । मान्छे खान पल्केका बाघलाई भने आजिवन खोरमा थुनेर राखिन्छ ।
चितवन र बाँकेमा मान्छे खाएका पाँच बाघले चितवन राष्ट्रिय निकुञ्जको खोरमा ‘कैद सजाय’ भोगिरहेका छन् । विभिन्न अनुसन्धान अनुसार ९५ प्रतिशत बाघले मानिसलाई आक्रमण गर्दैनन्, बाँकी पाँच प्रतिशतले मात्रै मान्छेलाई आक्रमण गर्छन् ।
निकुञ्जको मुख्यालय कसरास्थित पिंजडामा तीन र पूर्वी सेक्टर सौराहास्थित पिंजडामा दुई बाघलाई थुनेर राखिएको छ । सौराहाको वन्यजन्तु अस्पतालभित्र तनहुँबाट ल्याइएको आँखा नदेख्ने चितुवालाई पनि थुनेर राखिएको छ । वस्ती क्षेत्रमा निस्किरहेपछि आँखा नदेख्ने चितुवालाई डेढ वर्षअघि समातेर चितवन ल्याइएको हो । यसले पनि कैद सजाय भोगिरहेको छ ।
कसरामा विंस. २०७७ सालदेखि एउटा बाघले कैद सजाय भोगिरहेको छ । देवनगरस्थित एक जना मन्दिरका पुजारीलाई बाघले खाएपछि त्यसलाई नियन्त्रणमा लिइएको हो । बाघ धपाउँछु भनेर गएका पुजारीलाई नै बाघले आक्रमण गरेको थियो । एउटा बाघ दुई महिनाअघि माडीको अमिलियाबाट नियन्त्रणमा लिएर ल्याइएको हो । बाघको आक्रमणबाट स्थानीय एक जनाको मृत्यु भएपछि बाघलाई नियन्त्रणमा लिइएको हो ।

माडीमा पशु चौपाया खाइरहने र गाउँ वस्तीतिर पनि निस्किरहने भएकाले उक्त बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘त्यसले मानविय क्षति गर्न सक्ने देखिएकाले नियन्त्रणमा लिइएको हो । माडीको अमिलियामा एक जना मान्छे खाएको आशंका पनि गरेका छौँ’, उनले भने ।
बाँकेबाट ल्याइएको बाघले भने पाँच जना मान्छे खाएको हो । मान्छे खान पल्किएपछि एक वर्षअघि उक्त बाघलाई नियन्त्रणमा लिइएको थियो । बाँकेमा थुन्ने खोर नभएकाले उसलाई चितवन ल्याइएको हो । सौराहाको पिंजडामा राखिएका बाघले पनि लगातार मान्छे खाएका हुन् ।
मेघौली र कसरामा गरी करिब ६ जना मान्छे खाएको बाघलाई सौराहामा राखिएको छ । त्यसलाई मेघौलीबाट गएको असार २ गते नियन्त्रणमा लिइएको हो । जेठ २४ गते जंगलमा निउरो टिप्न गएकी घैलाघारीकी ५५ वर्षीय मंगली बोटेलाई उक्त बाघले आक्रमण गरेको थियो ।
अर्काे एउटा बाघलाई कुमरोजबाट गएको बैशाखमा नियन्त्रणमा लिइएको हो । त्यसले कम्तिमा पनि तीन जना मान्छे खाएको उनले बताए । यसले पहिलो पटक चार वर्षअघि मान्छेलाई मारेको थियो । मान्छेसँग अचानक जम्काभेट भएर आक्रमण गरेका बाघलाई भने छाड्नुपर्ने उनी बताउँछन् । मान्छे खान पल्केको बाघलाई छाडेमा त्यसले अर्काे घटना निम्ताउने जोखिम हुने उनको भनाइ छ ।
बाघ पाल्न भने सहज छैन । एउटा बाघलाई दिनमा पाँच देखि सात किलो मासु चाहिन्छ । निकुञ्जले कहिलेकाँही दुर्घटनाबाट मरेका जनावरको मासु बाघलाई दिने गरेको छ । अधिकांश समय भने पाडाको मासु किनेर ल्याएर दिने गरिएको उनले बताए ।
‘मान्छे नै खाएकाले यीनिहरुलाई मासु खुवाउँदै पाल्नुको विकल्प छैन’, उनी भन्छन्, ‘पाल्नलाई बजेट छैन, दाताहरुबाट खोजखाज गरेर मासु खुवाउने पैसा जुटाइएको छ ।’ उनका अनुसार एउटा बाघले दिनमा कम्तिमा दुई हजार रुपैयाँको मासु खान्छ ।
बाघले मान्छे खाएका घटना भने निकुञ्जको मध्यवर्ती क्षेत्र र कोर क्षेत्रमा नै भएको उनी बताउँछन् । ‘वस्ती क्षेत्रमा आएर बाघले मानविय क्षति पु¥याएको रेकर्ड छैन । कमजोरी त मान्छेको नै हो । गत आवमा बाघको आक्रमणबाट १४ जनाको मृत्यु भयो, तर ती सबै घटना सामुदायिक वन र कोर क्षेत्रमा भएका हुन्’, उनले भने । मान्छेलाई सचेत गराउँदा पनि कहिलेकाँही बाघले आक्रमण गरेका घटना आइरहेको उनी बताउँछन् ।

गत आवमा भएका १४ घटनामध्ये दुई वटा कोर क्षेत्रमा भएका घटना हुन् । लुकिछिपी रुपमा घाँस काट्न, निउरो टिप्न र दाउरा लिन कोर क्षेत्रमा गएका दुई जनालाई बाघले आक्रमण गरेको हो । गएको बैशाखमा कामको सिलसिलामा हात्तिसारेलाई बाघले आक्रमण गरी मारेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा बाबुराम लामिछानेले निकुञ्जको कुमरोज र जगतपुर, मेघौली क्षेत्रमा बाघले बढी आक्रमण गर्ने गरेको बताए । थुनामा रहेका बाघलाई प्रकृतिमा छाड्न सकिने स्थिती नरहेको उनी बताउँछन् । समूहबाट छुट्टिएका, बुढो भएका र जनावरको शिकार खेल्न नसक्ने बाघले मान्छेलाई आक्रमण गर्ने गरेको देखिन्छ ।
‘पिंजडामा रहेका केहि बाघ बुढो भएकाले छाड्न रिस्क हुन्छ । मेघौलीबाट ल्याएको अर्काे बाघ तन्नेरी नै छ, त्यसले झन् दुई÷तीन दिनको फरकमा मान्छेलाई आक्रमण गरेकाले छाड्न जोखिम छ’, उनले भने । बाघ सर्वेक्षण अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् । एउटा बाघ औसत १६ वर्षसम्म बाँच्छन् । कुनै बाघ २० वर्षसम्म बाँचेको पनि रेकर्ड छ ।














