चितवन । नारायणी नदीले गर्ने जमिन कटानलाई रोक्न करिब साढे दुई अर्बको लागतमा तटबन्धन गर्न लागिएको छ । भरतपुर महानगरपालिकाको पहलमा संघीय बजेटमा नदी तटबन्धनको काम सुरु भएको छ ।
चितवनतर्फ पर्ने नारायणगढदेखि गोलाघाटसम्म तटबन्धन गर्न लागिएको हो । विभिन्न पाँच प्याकेजमा छुट्याएर नदी तटबन्धनको काम थालिएको नारायणी नदी व्यवस्थापन आयोजनाले जानकारी दिएको छ ।
नदी तटबन्धनको प्रारम्भिक काम सुरु भएपछि सोमबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा नदी कटान क्षेत्रको स्थलगत अवलोकन गरिएको छ ।

आयोजनाका अनुसार प्याकेज नं १, २९, ३०, ३१ र ५ गरी तटबन्धनको काम सुरु भएको हो । प्याकेज नं १ मा गोलाघाटदेखि बलुवासम्म, प्याकेज नं २९ अन्तर्गत बलुवादेखि सिसैसम्म, प्याकेज नं ३० अन्तर्गत गाजिपुरदेखि हिरापुरसम्म, प्याकेज ३१ अन्तर्गत रामघाटदेखि काभ्रेघाटसम्म र प्याकेज नं ५ मा नारायणी पुलदेखि उत्तरतर्फ तटबन्धनको काम गरिने मेयर दाहालले जानकारी दिइन् ।

महानगरकी मेयर दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत सक्रियतामा नदी तटबन्धन जस्तो मेघा प्रोजेक्टका लागि संघीय बजेट प्राप्त भई काम सुरु भएको बताइन् ।
‘वर्षेनी बाढीले हजारौँ हेक्टर जमिन कटान गर्ने, वस्ती डुबानमा पार्ने समस्या थियो । हामीले यसको दिर्घकालिन रुपमा समाधान गर्नुपर्छ भनेर लाग्यौँ । अहिले काम सुरु भएको छ’, उनले भनिन् ।
मेघा प्रोजक्ट अन्तर्गत नारायणी नदी किनारमा तटबन्ध, त्यसको आडमा गाडी हिँड्ने बाटो र बाटोको छेउमा बोटविरुवा रोपिने छ । तटबन्धपछि करिब ४०० बिघा जग्गा उकासिने र हजारौँ बस्ती सुरक्षित हुने अपेक्षा गरिएको छ ।














