चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भारतले सिमा क्षेत्रमा भइरहेको निरन्तरको ज्यादतीको विरुद्धमा खुलेर बोल्न पाउने बताएका छन् । सामाजिक सञ्जालमा लामिछानेले एक पोष्ट गर्दे महाकाली नदीमा परेर मृत्यु भएका नेपालीहरुलाई सम्झदै सरकार गैरजिम्मेवार भई बसेको बताएका छन् ।
‘त्यहि महाकाली नदिमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ बर्षका जयसिंह धामी महाकाली नदिमा र हराउँछन् सँधैका लागि । त्यहि महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा,’ उनी लेख्छन्, ‘त्यहि महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउँन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका ।’
आफ्नो सिमा जोगाउने र नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्तवपूर्ण कुरा के हुन सक्छ भनेर राज्यमाथी उनले प्रश्न उठाएका छन् ।
‘आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्छ।नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ,’ उनले लेखेका छन्, ‘त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।’














