चितवन । भरतपुर–४ लंकुस्थित हरिकीर्तन धार्मिक संस्था÷लक्ष्मीवेङ्कटेश मन्दिरमा फागुन १ देखि ९ गतेसम्म चल्ने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को तयारी पूरा भएको छ । महायज्ञको भोलि शान्तिधाम काभ्रेस्थलीका पीठाधीश स्वामी चतुर्भुजाचार्य ‘चूडामणि महाराज’ले उद्घाटन गर्ने कार्यक्रम रहेको मूल समितिका सह–संयोजक फूलनाथ निउरेले जानकारी दिए ।
उद्घाटन हुनुअघि बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक, जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने भेषभूषा, ब्यानर, ओमकार झण्डासहितको शोभा–कलशयात्राको कार्यक्रम रहेको मूल समितिका सचिव भागवत कंडेलले बताए ।
महायज्ञ नाङ्लिवाङ्, पर्वतका स्वामी नारायणाचार्य/टीकाराम गुरुको प्रधान आचार्यत्व, संस्थाका अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कंडेलको सत्संकल्प एवम् डा चक्रपाणी आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न हुने आयोजक समितिले जनाएको छ । यज्ञशेषबाट अक्षयकोष अभिवृद्धि गरी नित्य भगवतपूजा–आराधना एवम् मन्दिरलाई सुव्यवस्थित ढंगले संचालन गर्नु महायज्ञको उद्देश्य रहेको संयोजक टीकाराम कंडेलले बताए ।
महायज्ञअन्तर्गत फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य/मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन र संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य/महन्त पदमा पट्टाभिषेक, प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन गरिने मीडिया प्रचार संयोजक माधव सापकोटाले जानकारी दिए । फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको उनले बताए ।
यसैबिच महोत्सवको पूर्व सन्ध्यामा सयौँ भक्तजनहरूको सहभागितामा आज मोटरसाइकल तथा गाडी र्याली सम्पन्न भएको छ । मन्दिर परिसरबाट सुरु भएको र्यालीले अद्वैतचोक–धारापानीचोक–वैकुण्ठचोक–सहिदचोक–चौबिसकोठी–धर्मचोक–आनन्दचोक–चाणक्यचोक–नवदुर्गाचोक–जानकीचोक हुँदै हरिकीर्तनचोक मन्दिरमा पुगेर समापन भएको थियो ।













