चितवन । भरतपुर महानगरपालिका–१२ गोन्द्राङ चोकमा नम्बर प्लेट नराखिएको ‘अन टेस्ट’ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
मोटरसाइकलको पछाडि सवार एक जना र साइकल यात्री घाइते भएको प्रहरीले बताएको छ ।
सोमवार साँझ ६ः१० बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको उक्त मोटरसाइकलको ठक्करबाट साइकल यात्री भरतपुर–८ बस्ने वर्ष ६३ को इन्द्र बहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार खैरहनी नगरपालिका–२ बस्ने वर्ष ५८ को खण्ड प्रसाद आचार्य मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक खैरहनी–२ बस्ने वर्ष ५५ को लेखनाथ आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











