भरतपुर । फेन्सी व्यवसायी संघ चितवनको ३६औँ वार्षिक साधारण सभा तथा १९औँ अधिवेशन भोली (सोमवार) हुँदै छ । संघको अध्यक्ष पदको लागि यमप्रसाद घिमिरे र रामप्रसाद पौडेल चुनावी मैदानमा छन् । अध्यक्ष पदका दुवै उमेदवारहरुले आ–आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
फेन्सी व्यवसायमा २६ वर्षको अनुभव भएका घिमिरेले व्यवसायीको समस्यालाई नजिकबाट महसुस गरेका छन् । संघको उपसमिति सदस्य, कार्यसमिति सदस्य, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्ष समेत भइसकेका उनले संघको नेतृत्व लिएर काम गर्न आफु सक्षम र अनुभवी भएको बताउँछन् ।
व्यवसायी र घरधनीसँग समन्वय गरी कम्तिमा पाँच वर्ष घरभाडा नबढाउने सम्झौता गर्ने, घरभाडा सम्बन्धित घरधनीले नै तिर्नुपर्ने भनि पत्राचार गर्ने, पछिल्लो समय व्यवसायमा आएको गिरावटका कारण सरकारलाई कर तिर्न समस्या भएकाले करको दर घटाउन समन्वय गर्ने, व्यवसायीको लागि हरेक तीन महिनामा सचेतनामुलक कार्यक्रम गरिने उनले बताए ।
कर सम्बन्धि, लेखा सम्बन्धि र उद्यमशीलता सम्बन्धि तालिम गरिने उनको भनाई थियो । हरेक महिना कम्तिमा एउटा टोलमा व्यवसायी र संघको कार्यसमिति बीच भेटघाट गर्ने र व्यवसायीलाई परेको समस्या समाधान गर्ने उनको योजना छ । वार्षिक सदस्यता नवीकरण शुल्क ६०० रुपैयाँ लिने र वनभोज जान चाहने सदस्यसँग मात्रै थप शुल्क उठाइने उनले बताए ।
सबै व्यवसायीको बिमा गर्ने, महिनौँसम्म चल्ने प्रदर्शनी रोक्ने, उद्योग वाणिज्य संघसँग समन्वय गरी नवीकरण शुल्क घटाउने, चितवन महोत्सवमा फेन्सी व्यवसायीले स्टल राख्न चाहेमा ५० प्रतिशत कम भाडा लिई सम्झौता गर्ने वातावरण बनाउन आफ्नो उमेदवारी रहेको उनले बताए । साप्ताहिक बिदाको सन्दर्भमा सदस्यहरु बीच छलफल गरी अघि बढ्ने, व्यवसाय प्रवद्र्धनको लागि विज्ञहरुलाई बोलाएर छलफल गर्ने, जिल्लाको मुख्य बजारहरुमा संघको इकाइ गठन गरिने
चितवनमा केन्द्रीय कार्यालय रहनेगरी संघलाई महासंघका रुपमा विकास गर्ने अभियान अन्तर्गत विभिन्न जिल्लाका फेन्सी व्यवसायीसँगको भेटघाट र छलफललाई तीव्रता दिइने उनले जानकारी दिए । फेन्सी व्यवसायी संघ र फेन्सी साकोसका कार्यक्रमहरु संयुक्त रुपमा गर्ने र संघलाई व्यवसायीमैत्री बनाउने उनको योजना छ ।











