भरतपुर । फेन्सी व्यवसायी संघ चितवनको अध्यक्ष पदका उमेदवारी दिएका रामप्रसाद पौडेलले संघलाई थप सशक्त र व्यवस्थित बनाउन आफ्नो उमेदवारी रहेको बताएका छन् । संघको ३६औँ वार्षिक साधारण सभा तथा १९औँ अधिवेशन भोली (सोमवार) हुँदै छ । आर्थिक मन्दी, मनोमानी घरभाडा, पार्किङ व्यवस्थापनको अभाव, करसम्बन्धी समस्या र व्यवसायीको असुरक्षा जस्ता समस्याहरू व्यवसायीको प्रमुख चुनौती रहेको उनले बताए ।
व्यवसायीको हकहितको रक्षा गर्दै सुरक्षित किसिमले व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्न पनि आफ्नो उमेदवारी रहेको उनले बताए । चितवनका फेन्सी व्यवसायीहरुलाई एकीकृत गर्दै स्थानीय निकाय, टोल विकास संस्था र बजार व्यवस्थापन समितिसँग सहकार्य गरेर सहायक वातावरण निर्माण गर्ने पहिलो प्राथमिकता हुने उनले बताए ।
‘घरभाडा, पार्किङ, र फोहोर व्यवस्थापनका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरी व्यवस्थित बजार निर्माण गर्ने, व्यवसायीको धनजन क्षतिका लागि राहत कोष निर्माण गर्दै व्यवसायीक बीमाको प्रभावकारी कार्यान्वयन गर्ने र घर भाडामा हुने मनोमानी रोक्न वैज्ञानिक घर भाडा प्रणाली लागू गर्न ठोस पहल गर्ने मेरो प्रतिबद्धता छ’, उनले भने ।
युवाहरूलाई व्यवसायीक क्षेत्रमा प्रोत्साहित गर्न तालिम कार्यक्रम सञ्चालन गरी व्यवसायमा उनीहरूको सहभागिता बढाउने योजना आफुसँग रहेको उनले बताए । व्यवसाय कर, घरभाडा कर र विज्ञापन करका समस्याहरूलाई नीतिगत तहमा समाधान गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, नयाँ सदस्यता, नविकरण प्रक्रिया र सूचना प्रवाहलाई पूर्णतः डिजिटल बनाउने र संघको वेबसाइट तथा सामाजिक सञ्जाललाई अद्यावधिक गरिराख्ने उनले बताए ।
प्रत्येक वर्षको साधारण सभामा उत्कृष्ट व्यवसायीलाई सम्मान र पुरस्कार प्रदान गरेर व्यवसायीक क्षेत्रमा प्रेरणा फैलाउने र फेन्सी व्यवसायीहरूलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन फेन्सी साकोससँग सहकार्य गरिने उनी बताउँछन् । ‘म एक व्यवसायीका रूपमा व्यवसायीको दुःख, पीडा, र संघर्षलाई नजिकबाट बुझेको छ्ु । संघलाई पारदर्शी, प्रभावकारी र व्यवसायीमैत्री बनाउन म सम्पूर्ण रूपमा प्रतिबद्ध छु’, उनले भने ।











