चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा भोलि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाएको छ । वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो । सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रशासकिय अधिकृत अन्तिम सिंजालीद्वारा जारी सूचनामा भनिएको छ, ‘सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।’
शुक्रबार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको भन्दै यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।
अत्यावश्यक कामबाहेक नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो । विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।












