काठमाडौं । काठमाडौँ महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने भएको छ ।
माघ २ गतेदेखि महानगरले चार हजारलाई तीन महिनाको अनलाइन तालिम दिने भएको हो ।
‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत महानगरले १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखेको छ । सोही अनुरूप साइबर सुरक्षा सम्बन्धी तीन महिने तालिम सुरु हुन लागेको हो । महानगरलाई तालिम सञ्चालन गर्न ईसी काउन्सिल र ग्याप टेक्नोलोजिजले सहयोग गर्नेछन् ।
तालिममा सहभागीहरूलाई स्मार्टफोन, ईमेलहरूमा प्राप्त हुने मेसेज तथा सूचना, इन्टरनेट जडान भएका डिभाइस र यसमा प्रयोग हुने एप्लिकेसनहरूको आधिकारिकता, जोखिमका विषयमा सिकाइने छ । त्यस्तै प्रोग्रामिङ, नेटवर्किङ र क्लाउडका आधारभूत पक्ष पनि सिकाइने छ ।
महानगरले सञ्चालन गर्ने यो तालिम भने अनलाइन माध्यममार्फत हुने कार्यक्रमका सम्पर्क व्यक्ति अजय पौडलले बताए । “यो तालिम एक प्रकारको छात्रवृत्ति हो । सहभागीहरूले तालिमपछि हुने परीक्षामा सामेल भएर प्रमाणपत्र लिन सक्छन् । साथै महानगरको श्रम बैङ्कमा उनीहरूको नाम समेत सूचीकृत हुन्छ,” उनले भने ।
त्यस्तै तालिम महानगरले सञ्चालन गर्ने भएता पनि नेपालभर विभिन्न स्थानमा रहेका व्यक्तिहरू सहभागी हुनसक्ने छन् । कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नुपर्ने हुन्छ । अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहाेस् ।











