काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको गणना सम्पन्न भएको जनाएको छ । कार्यालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लक्ष्यको ९१.६ प्रतिशत आर्थिक गणना सकिएको जानकारी दिएको हो ।
कार्यालयका अनुसार कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘ई–सेन्सस’ वेब पेजमार्फत ७ हजारभन्दा बढी गरी कुल १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठानको गणना भइसकेको छ । दोस्रो आर्थिक गणनामा देशभरका १४ लाख प्रतिष्ठान एवं व्यवसाय समेट्ने लक्ष्य राखिएको छ ।
देशैभरका विभिन्न जिल्लाबाट विवरणहरू प्रणाली (सिस्टम)मा प्रविष्ट गर्ने क्रम अझै जारी रहेकाले यो संख्या थप बढ्ने कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए।
गणनाका क्रममा सुरुवाती दिनमा केही प्रतिष्ठान एवं व्यवसायीहरूले विवरण दिन आनाकानी गरे पनि गोपनीयताको कानुनी ग्यारेन्टीबारे प्रष्ट पारेपछि सहज भएको लामिछानेले बताए । तथ्यांक संकलनका क्रममा विगतमा सञ्चालनमा रहेका तर हाल पूर्ण रूपमा बन्द भएका प्रतिष्ठान एवं व्यवसायको संख्या करिब ३८ हजार फेला परेको कार्यालयले जनाएको छ ।











