चितवन । त्रिशुली र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा लाग्ने माघे सक्रान्ति मेलाको व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । माघे सक्रान्तिका दिन देवघाटको बेणी संगममा स्थान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।
माघे सक्रान्ति मेलामा छिमेकी देश भारतबाट समेतगरी पाँच लाख भक्तजन आइपुग्ने बताइएको छ । माघे सक्रान्तिका लागि विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आउने क्रम सुरु भइसकेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा माघे सक्रान्ति मेला व्यवस्थापन समितिका सदस्य सचिव सदन बरालका अनुसार गत वर्षको माघे सक्रान्ति मेलामा साढे २ लाख भक्तजन देवघाट पुगेका थिए ।
भोलि बिहान बेणी संगममा धार्मिक विधि अनुसार लिङ्गो गाडेपछि माघे सक्रान्ति मेला शुभारम्भ हुने बरालले बताए । माघे सक्रान्तिका दिन रामनगर, ठिमुरा र दासढुंगाबाट देवघाट प्रवेश गर्ने र बागीश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ ।
देवघाटमा साना सवारी साधन पार्किङको लागि सीताराम संस्कृत माविको कम्पाउण्ड र ठूला सवारी साधनलाई दाहसंस्कार प्रवेशद्धार अगाडि पार्किङ स्थलको व्यवस्था गरिएको उनले बताए । पार्किङ गर्दा साइकलको १० रुपैयाँ, मोटरसाइकलको २० रुपैयाँ, कार/जीप/भ्यानको ५० रुपैयाँ र ठूला सवारी साधनको १०० रुपैयाँ शुल्क उठाउने समितिको योजना छ ।
नदी वारपार गर्दा डुङ्गा र ¥याफ्टिङको एकतर्फी भाडा ५० रुपैयाँ निर्धारण गरिएको छ । आकस्मिक उद्धारका लागि दुई वटा काठका डुङ्गा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेनाको नयाँ सबुज गणबाट गरी दुई/दुई वटा ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाले जानकारी दिए ।
मेलामा सुरक्षा व्यवस्था मिलाउन बागमती प्रदेश प्रहरीबाट १७८ जना, जिल्ला प्रहरी कार्यालयबाट १०० जना, ५० जना सशस्त्र र ३० भन्दा बढी नेपाली सेना परिचालन हुने छन् । तनहुँतर्फबाट करिब १४५ जना सुरक्षाकर्मी परिचालन गरिने छ । झोलुंगे पुलमा एक पटकमा सय जनालाई एकतर्फी रुपमा प्रवेश अनुमति दिइने रानाले बताए ।











