चितवन । घनाबस्ती जोगाएर रेलमार्गाको रेखाङ्कन गर्न नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) चितवनले माग गरेका छन् । एमाले र एकीकृत समाजवादीले आज छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी चितवनमा रेलको लागि वैकल्पिक मार्ग छनौट गर्न आग्रह गरेका हुन् ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जिल्लाका राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालासँग परामर्श नगरी गरिएको रेलमार्गको रेखाङ्कनलाई अगाडि नबढाउन अनुरोध गरेका छन् ।
‘रेलमार्गसहित स्टेशन राखिने स्थान वरपर स्वतः शहरी विकास हुने हुँदा अधिकांश भरतपुरबासीलाई पायक पर्ने, शहरी विकास नभईसकेको क्षेत्र हेरी स्टेशन राखिनु र घनाबस्ती जोगाएर रेखाङ्कन गरिनु पर्दछ’, न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेकपा एकीकृत समाजवादी चितवनका कार्यबहाक अध्यक्ष कृष्णराज न्यौपाने ‘लब्ली’द्वारा जारी विज्ञप्तिमा प्रस्तावित रेलमार्ग रेखाङ्कन पुनःविचार गरी वैकल्पिक मार्ग चयन गर्न माग गरिएको छ ।
‘..क्षतिपूर्ती दिँदा समेत कम क्षतिपूर्तीबाट कार्य सम्पादन गर्न सक्ने सम्भावनालाई दृष्टिगतगरी प्रस्तावित रेलमार्ग रेखाङ्कन पुनः विचार गरी वैकल्पिक मार्ग चयन गर्न हाम्रो पार्टी सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ’, कृष्णराज न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डका लागि राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ र भरतपुर महानगरको ८, ७, ५, ४ र १६ नम्बर वडाभित्र रेलमार्ग बनाइँदै छ ।
सरकारले घनावस्तीको बीचबाट रेलमार्ग बनाउन लागेको भन्दै स्थानीयहरु चरणबद्ध आन्दोलनमा होमिएका छन् ।











