काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको आरोप लगाएका छन् । आन्दोलनबारे थाहा हुँदाहुँदै त्यही बाटोबाट अगाडि बढ्नु लापरबाही भएको उनले बताए ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको लापरबाहीलाई हेरेर समितिले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए । लापरबाही गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने सांसद थापाले बताए ।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको उल्लेख गरे । गएको साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको उनले बताए ।
माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको उनले बताए ।
बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरूको जीवन हेर्ने गरी अघि बढ्न थापाले सुझाव दिए ।












