काठमाडौँ । पूर्वभारतीय कप्तान महेन्द्र सिंह धोनीले आईपीएलको आगामी सिजनमा पनि चेन्नई सुपर किंग्सको कप्तानी गर्ने भएका छन् । त्यस्तै हालका लागि हार्दिक पाण्ड्या गुजरात टाइटन्समा रहेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले भने ३० वर्षीय खेलाडीलाई मुम्बई इन्डियन्समा कथित रुपमा ट्रेड गरेको समाचार प्रकाशित गरेको छ ।
आईपीएलका फ्रेन्चाइजीहरूले सन् २०२४ का लागि रिटेन र रिलिज भएका खेलाडीको सूची सार्वजनिक गरेका छन् । आइतबार रिटेन र रिलिज विन्डोको अन्तिम मिति थियो। यद्यपि, रिटेन्सन घोषणा गर्ने समयसीमा सकिए पनि, डिसेम्बर १९ मा दुबईमा हुने लिलामी हुनुभन्दा सात दिन अघिसम्म ट्रेडिङ विन्डो खुला रहन्छ। यसमा पनि खेलाडीहरु साटफेर हुन सक्नेछन् ।
यस सिजनमा २ वटा ठूला कारोबार भएका छन् । तीमध्ये रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले शाहबाज अहमदको स्थानमा राजस्थान रोयल्स (आरआर) मा मयंक डागरलाई स्थान दिएको छ भने लखनऊ सुपरजायन्ट्सले आवेश खानको स्थानमा राजस्थान रोयल्सका देवदत्त पडिक्कललाई समावेश गरेको छ। बेन स्टोक्स र जो रुटले यो सिजन खेल्न अस्वीकार गरेका छन् ।
यस सिजनका लागि शार्दुल ठाकुर र जो रुट जस्ता खेलाडीलाई रिलिज गरिएको छ, जसको अर्थ उनीहरु सबै डिसेम्बर १९ मा हुने लिलामीमा प्रवेश गर्नुपर्नेछ ।कोलकाता नाइट राइडर्सले सबैभन्दा बढी १२ खेलाडी र पञ्जाब किंग्सले सबैभन्दा कम ५ खेलाडी रिलिज गरेको छ ।











