जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलोथिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे। सदरमुकामबाट पठाएको राहत सामग्री अझै राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहतभन्दा पनि पहिले गाउँ पुगे।
मन्त्रीदेखि राष्ट्रपतिसम्म जिल्लामा आउने र जाने भीड लागे पनि भूकम्पपीडितसम्म अझै राहत सामग्री पुग्न नसक्दा समस्या उत्पन्न भएको छ।
अगुवा, पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षतिप्रति दुःखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए।
राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्वसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेझैँ भएको बताएका छन्।
बारेकोट गाउँपालिका–१ रामिडाँडामा भूकम्पको केन्द्रविन्दु रहेको थियो। ‘केही काम गरौँला भनेर आशा लिएर आएका छौँ, हाम्रो भरोसा मान्नुहोस्’ भन्दै आश्वासनको पोको सुनाएर फेरि राष्ट्रपति पौडेल काठमाडौँ हुइँकिए।
राष्ट्रपति पौडेलले सदरमुकामस्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए। उनले पहिले थाप्ले वास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।
जाजरकोट अस्पतालमा बिरामी भेट्न गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका–१ कि शितली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन्। उनले आफ्नी बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन राष्ट्रपतिसँग आग्रह गरेकी थिइन्।
भूकम्पका कारण मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गराइरहेका नलगाडका वीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउँदै राष्ट्रपतिसँग गुनासो गरे।











