चितवन । नेपाल प्रहरीको इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ भनि भरतपुरका एक प्लाई पसल सञ्चालकलाई ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीय ललित बानियाँ रहेका छन् ।
बानियाँले आफु जिल्ला प्रहरी कार्यालय चितवनको मुद्धा फाँटमा कार्यरत प्रहरी निरीक्षक भएको बताएर भरतपुर महानगरपालिका–९ हाकिमचोकस्थित धनलक्ष्मी प्लाई पसलका सञ्चालक मात्रिकाप्रसाद पराजुलीलाई एक लाख ७९ हजार २०० रुपैयाँ ठगेका थिए ।
गएको भदौ २७ गते दिउँसो करिब १२ बजेको समयमा प्लाई पसलमा गएर बानियाँले आफु प्रहरी निरीक्षक सुवेन्द्र कँडेल भएको बताएका थिए । पहिला सीबीआइमा काम गरेको बताएका बानियाँले जिल्ला प्रहरी कार्यालयको डेकोरेसनका लागि सामान चाहिएको पसल सञ्चालक पराजुलीलाई बताए । मर्मत सम्भारको लागि प्रहरी कार्यालयलाई वर्षेनी १० लाख रुपैयाँ आउने पनि भनि उनले पसलेलाई झुक्याए ।
भोलिपल्ट भदौ २८ गते पुनः पसलमा गएर बानियाँले १० हजार रुपैयाँ पेश्की छाडे । असोज १ गते पसल सञ्चालकलाई फोन गरी उनले प्रहरी कार्यालयमा पठाउन भनेको सामान एसपी (प्रहरी उपरीक्षक)को घर काठमाडौँको सातदोबाटोमा पठाउन भने ।
सोहि अनुसार पसल सञ्चालकले असोज २ गते बा १७ च ३७४५ नम्बरको बोलेरोमा एक लाख ७९ हजार २०० रुपैयाँ बराबरको फरमाइका, प्लाई, डेनराइड लगायतका सामान काठमाडौँ पठाए । कोटेश्वर पुगेपछि बानियाँले अर्काे गाडीमा ती सामान हालेर लगे ।
उक्त सामानको पैसा माग्दा धाकधम्की दिई बानियाँ सम्पर्कमै आउन छाडेपछि पसल सञ्चालकले प्रहरी कार्यालयमा ठगीको निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले बानियाँलाई कात्तिक २० गते काठमाडौँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।











