जाजरकोट । घर अगाडि बारीमा शवको थुप्रो छ । त्यही थुप्रोको एउटा छेउमा भक्कानिएर रुदै थिइन् नलगाडकी पिरमकली विक (८) । उनको अगाडि ४ वटा शव थिए । आफ्नो काकाको काखमा बसेर रोइरहेकी पिरमकलीले गुमाउन बाँकी केही थिएन ।
शुक्रबार मात्रै भारतबाट घर आएका थिए बुवा हिरे कामी (५५) । लामो समयपछि बुवा भारतबाट आएकाले उनको घरमा खुसीयाली छाएको थियो । खाना आएर सुत्न गएका उनका बुवा, आमा र दुई जना दाइहरु फेरि कहिल्यै उठ्ने छैनन् ।
भूकम्पमा परी बुबा हिरे कामी, आमा चन्द्रा विक (४५), दाइहरु विमल (१४) र सुनिल (१२) को मृत्यु भयो । जेठी दिदीको बिहे भइसकेको छ । अब उनी एक्लो भएकी छन् । पिरमकली बस्ने घर भत्किएको छ । कहाँ बस्ने, के खाने कुनै टुङ्गो छैन ।
स्थानीय दलवीर विटालुकी श्रीमती र छोराको मृत्यु भएको छ । दलवीर भने परीक्षा दिन नेपालगञ्ज गएका थिए । गाउँकै धनबहादुर महरका ७ वर्षीय छोरा प्रवेश महरको पनि मृत्यु भएको छ । स्थानीय दत्त कुमाईंको पनि ज्यान गयो ।
छोरा बाहिर थिए । घरमा भएका श्रीमती र आमा घाइते छन् । दुबैको नेपालगञ्जमा उपचार भइरहेको छ ।
शुक्रबार गएको भूकम्पमा परी चिउरी गाउँका मात्र परी १३ जनाको मृत्यु भएको छ । उनीहरु सबैको भेरी नदीमा सामूहिक दाहसंस्कार गरिएको छ । अनलाइन खबर डट कमबाट











