काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् ।
उनले भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’
उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।
यसैवीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् ।
खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताबए ।










