काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ‘ए’ को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भयो।
नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता र ओमानले समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकपको टिकट काट्नेछन्।
बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सक्यो।
नेपालले पावरप्लेको ६ ओभर सकिदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रनमा आउट हुँदा त्यसपछि मैदान आएका सोमपाल कामी १२ रन बनाएर आउट भए।
यस्तै छैटौं ओभरको अन्तिम बलमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड भए।
त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। नेपालका कप्तान रोहित पौडेल पनि १२ रन बनाएर आउट हुँदा नेपालले ९ ओभरमा ४ विकेट गुमायो।
नेपालले पाँचौ विकेटको रुपमा कुशल मल्ललाई १० रनमा गुमायो। गुल्सन झा पनि ३ रनमा आउट हुँदा नेपालले १३ ओभरमा ६ विकेट गुमाएको थियो भने सातौं विकेटको रुपमा सन्दीप जोरा १५औं ओभरमा १२ रनमा आउट भएका थिए।











