काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमासचिव वर्षमान पुन ‘अनन्त’ले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा प्रस्तावित प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
साथै पठनपाठन अवरुद्ध नहुने आन्दोलनको स्वरुप खोज्न पनि शिक्षकहरुलाई नेता पुनको आग्रह छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले यस्तो आग्रह गरेका हुन् ।
विधेयकमा प्रस्तवित प्रावधानहरु संशोधनको माध्यमबाट परिवर्तन गर्ने ठाउँ रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘भविष्यका कर्णाधार विद्यार्थीहरुको नियमित पठनपाठन रोकिनु राम्रो होइन । पठनपाठन अवरुद्ध नहुने गरी नैतिक दबाबमुलक रचनात्मक आन्दोलनको स्वरुपको खोजी गर्न शिक्षकहरुलाई आग्रह गर्दछु ।’
आन्दोलनका क्रममा संयमता अपनाउन पनि सबै पक्षलाई उनको आग्रह छ । उनी अगाडि लेख्छन्, ‘शिक्षकहरुले संयम नगुमाई धैर्य गर्नुपर्छ । सरकारका तर्फबाट शिक्षकका जायज माग सम्बोधन गर्न प्रयास गरियोस् । शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि सबैले संयम र धैर्यता राखौं ।’











