चितवन । समाचारको विषयलाई लिएर पत्रकारहरुलाई आतंकित पार्ने कार्यको नेपाल प्रेस चौतारी चितवन शाखाले भत्सर्ना गरेको छ । चौतारीले सोमबार विज्ञप्ति जारी गरी साउन ३१ गते टिकौली जंगलमा अक्सफोर्ड गाडीको ठक्कर दिई भएको दुर्घटनामा चालकले गाँजा सेवन गरेको पुष्टि भएको सन्दर्भमा प्रकाशित समाचारलाई लिएर कलेज प्रशासनको निर्देशनमा गरिएको हर्कत निन्दनीय भएको बताएको हो ।
चितवन पोष्ट र नारायणी अनलाइनका सञ्चारकर्मीलाई आतंकित पार्दै दुव्र्यवहार गर्ने कार्यको भत्सर्ना गर्दै चौतारीले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो छोडेर हुलहुज्जत गर्दै धम्की एवम् चेतावनीपूर्ण भाषा बोल्दै आतंकित पार्ने कार्य स्वतन्त्र पत्रकारिता माथिको नाङ्गो आक्रमण हो भन्ने हाम्रो ठहर छ ।’











