चितवन । अक्सफोर्ड कलेजको बस चालकले गाँजा खाएर बस चलाउँदा दुर्घटना भएको समाचारलाई लिएर चितवन पोष्ट दैनिक र नारायणी अनलाइनलाई धम्की दिनुका साथै कार्यालयभित्रै हुलहुज्जत गरिएको छ । साउन ३१ गते अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा छ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । बस चालकको स्वास्थ्य परीक्षण गर्दा गाँजा खाएको पुष्टि भएको थियो ।
सोहि समाचारको विषयमा अक्सफोर्ड कलेजले आज केहि युवाहरु परिचालन गरि आज धम्की दिएको छ । घटनालाई लुकाउन कलेज सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारीसहितको टोलीले चितवन पोष्टको कार्यालयमा घुसेर धाकधम्की दिनुका साथै हुलहुज्जत गरेको हो ।
घटनापछि चितवन पोष्ट दैनिकले एक विज्ञप्ति जारी गरि समाचारको विषयमा सञ्चारमाध्यममै घुसेर हुलहुज्जत गरेर सञ्चारकर्मीलाई आतंकित पारिएको बताएको छ । समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चारमाध्यमको कार्यालयमै आई धाकधम्की दिँदा असुरक्षित महसुस भएको चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताए ।
‘समाचार माथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चार माध्यमको कार्यालयमा आई धाकधम्की एवम् चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइँ छ’, विज्ञप्तिमा भनिएको छ । अक्सफोर्ड कलेजका प्रिन्सिपल समेत रहेका भण्डारीले जारी गरि आफ्नो बस चालकले लागु पदार्थ सेवन नगरेको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बस चालकको स्वास्थ्य रिपोर्टमा गाँजा खाएको पुष्टि भएको बताए । ‘बस चालकको रिपोर्टमा गाँजा खाएको पुष्टि भएको छ । रगतमा देखिने भएकाले केहि दिनअघिसम्मको पनि देखिन्छ’, उनले भने, ‘घटनाको विषयमा थप अनुसन्धान हुँदै छ ।’
त्यस्तै, नारायणी अनलाइन डटकममा आज प्रकाशित ‘गैंडाकोटको अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना’ शीर्षकको समाचारको विषयलाई लिएर सोहि समूहले आतंकित बनाएको अनलाइनले जनाएको छ । घटनाप्रति नारायणी अनलाइनले गम्भीर ध्यानाकर्षण र भत्र्सना गरेको छ । अनलाइनले एक विज्ञप्ती जारी गर्दै आजको घटनाले सञ्चारमाध्यमलाई आतंकित बनाउने र पत्रकारलाई हतोत्साहित बनाउने कार्य भएकोले सुरक्षाको प्रत्याभूति दिलाइदिनु हुन जिल्ला प्रशासन कार्यालय चितवन समक्ष आग्रह गरेको छ ।











