काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक जटिलता रहेको बताएका छन्। बुधबार निर्मल लामा स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै राजनीतिक जटिलता आइरहेको बताएका हुन्।
‘जटिलता त राजनीतिमा आइरहन्छन्। अहिले पनि राजनीतिक जटिलता छ, तर अहिले नै म सबै कुरा भन्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने। नराम्रा गर्दै नगर्ने भनेर लागिरहेका छौँ।’
उनले सुशासन, न्याय, सामाजिक न्याय र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, नागरिक समाज, बुद्धिजीवी र आम समुदायसँग अपिल गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सुशासनका निम्ति गम्भीर भएर दृढ अठोटका साथ अगाडि बढेको बताए।
‘हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय र सुशासनको पक्षमा काम गर्ने भनेको छ,’ उनले भने, ‘सरकारले राम्रा काम गर्ने भनेको छ, सामाजिक न्यायका लागि काम गर्ने भनेको छ। त्यस दिशामा हामी अघि बढेका छौँ।’











