काठमाडौं। सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्ण बहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।
पूर्वसभामुखसमेत रहेका महराले सरकार भित्र भए पनि वा बाहिर भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन्। शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा संलग्नहरूलाई कारवाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए।
उपाध्यक्ष महराले भने ,‘जो दोषी छन्। तिनी कारबाहीको दायरा भित्र पर्दछन्। जो दोषी छैन, त्यो त कारबाहीको दायरा भित्र पर्ने कुरा भएन। सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ। त्यसमा कुनै भेदभाव हुँदैन।’
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दावी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको तर्क थियो। उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए।
‘पहिलो कुरा, सरकारको बारेमा के हुन्छ भन्ने कुरा आएको छ आजभोलि। जस्तो यो मोर्चामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि थियो। अव सरकारमा सहभागी हुने वा नहुने विषयमा आजको मितिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त? भन्ने जिज्ञासा हुन सक्दछ’, उपाध्यक्ष महराले भने, ‘यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ। तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभए पनि पर्याप्त बहुमत छ। बहुमतको अभाव छैन। त्यसकारणले सरकार टिक्छ। सरकार यथावत् रहन्छ। र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ। त्यसकारण यसमा मैले कुनै दुविधामा नरहन पनि पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छु।’
उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत बताए। त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए।










