काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नाविरुद्ध समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि वयक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका हुन्।
‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा खाँणको पनि नाम मुछिएको छ। प्रहरी हिरासतमा रहेका टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए।











