काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा आफू कसैको दबाबमा नपर्ने बताएका छन्। शनिबार सिंहदरबारमा एमाले अध्यक्ष ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउनेमाथि कारबाही गर्ने विषयमा आफूहरू दबाबमा नपर्ने बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आजको भेटमा अध्यक्ष ओलीले उक्त प्रकरणको अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिए।
उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो। प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन। हामी कसैको दबाबमा पर्दैनौँ। कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ। यो रोकिँदैन। हामी दृढताका साथ अघि बढ्छौँ। निर्दोष कोही नपरून्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ।’
अध्यक्ष ओलीले टोपबहादुर रायमाझी तथा रामबहादुर थापा बादलहरूलाई जोगाउनुस भन्नुभएको छरुभन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘ओलीजीले त्यस्तो कहाँ भन्नुहुन्छ? प्रधानमन्त्रीलाई लौ बचाउनुस भनेर भन्न कोही आउन सक्दैन।’
नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइल नेताहरूकै नाम जोडिएको घटनापछि ओली(प्रचण्डबीचको भेटघाट बाक्लिएको छ। घटनामा एमाले सचिव टोपबहादुर रायमाझीको समेत नाम परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष ओलीले यसअघि पनि भेटेर दोषीलाई उम्काउने र एमालेलाई फसाउने काम भए आफूहरूलाई मान्य नहुने भन्दै घुमाउरो पारमा रायमाझीको बचाउ गरेका थिए।
शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले एमाले सचिव रायमाझीलाई पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनी फरार छन् भने उनका छोरालाई पक्राउ गरिसकेको छ।










