काठमाडौँ । चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि फागुन १६ गतेसम्ममा दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले फागुन १० गतेदेखि १६ गतेभित्र दल दर्ता गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको हो ।
निर्वाचन आयोग राजनीतिक दल शाखाका प्रमुख तथा उपन्यायाधिवक्ता गुरू वाग्लेले उपनिर्वाचनमा उमेदवार बन्नका लागि दल दर्ता हुनुपर्ने बताए । उनले भने, ‘फागुन १० देखि ६ दिनसम्म अर्थात् फागुन १६ सम्ममा राजनीतिक दलहरुलाई दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।’
आयोगले नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगको कार्यालयमा दल दर्ता गर्नुपर्ने वाग्ले बताउँछन् । उनका अनुसार गत मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११६ दल दर्ता भएका थिए । दर्ता भएकामध्ये ८७ दलले चुनावमा भाग लिएका थिए ।
निर्वाचन आयोगले चैत २० गते उमेदवार मनोनयन, २१ गते उमेदवारको विरोधमा उजुरी, २२ गते मनोनयन पत्र उजुरी उपर जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । चैत २३ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको भनाइ छ ।
उपनिर्वाचनका लागि फागुन १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको आयोगको भनाइ छ । मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ मा निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको हो ।











