काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरि २०८० सालमा नयाँ शैक्षिक सत्र वैशाख १ देखि पठनपाठन थाल्न सबै शिक्षा विकास तथा समन्वय इकाई, विद्यालय र स्थानीय तहलाई आग्रह गरेको छ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको माघ ६ गतेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
योसँगै कोभिड–१९ ले प्रभावित बनाएको शैक्षिक सत्र २०८० बाट नियमित हुने भएको छ। कोरोनाले ०७७ सालबाटै शैक्षिक सत्र बिथोलिएको थियो। ०७७ सालमा वैशाखबाट शुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्याइएको थियो। ०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनामै व्यवस्थापन गरियो।











