भरतपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन आइपुगेका छन् । आधा दर्जन कार्यक्रममा सहभागी हुन चितवन आएका गृहमन्त्री लामिछानेले भरतपुर विमानस्थलमा भिआईपी सुविधा लिएनन् । विमानबाट ओर्लिएपछि उच्च पदस्थ व्यक्तिको लागि भिआईपी कक्षको व्यवस्था गरिएको हुन्छ । उनले उक्त कक्षको प्रयोग नगरी सर्वसाधारण निस्किने मार्गबाटै बाहिर आएका हुन् ।
पार्किङ स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री लामिछानेले आफु निर्वाचित भइसकेपछि निर्वाचन क्षेत्रमा गरेको कामको प्रगतिबारे जानकारी गराए । उनले प्रहरीबाट पिर्के सलामी लिएकोबारे सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । त्यसप्रति लक्षित गर्दै उनले आफुले मन्त्री भइसकेपछि व्यक्ति सेवा सुविधा घटाएको प्रतिक्रिया दिए । सुरक्षा निकायले पालना गर्ने प्रोटोकलको विषयमा भने आफुले केहि भन्न नमिल्ने उनको भनाइ थियो ।
‘मेरा लागि विशेष केहि गर्नुपर्दैन, तर कुनै संस्थाको प्रोटोकल भत्काउन मैले मिल्दैन । मेरो स्वागतमा प्रोटोकल विपरित सिडिओसाप र सुरक्षा अधिकारी कोहि पनि आउनुपर्दैन’, उनले भने । विशेष सुरक्षा चुनौतीका बेला आफुले भनेजस्तो नहुन सक्ने उनले बताए ।
सिंगो देशका जनताले आपत परेका बेला सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गर्न लागिएको उनले बताए । ‘आफुले गरेका वाचा एक/एक याद छ मलाई । जनताले अनुभूति गर्नेगरी शान्ति सुरक्षा कायम गर्न हामी कटिबद्ध छौँ । सुरक्षा निकायका दाजुभाई दिदिबहिनीलाई राजनीतिक दलको कुनै पनि दबाबमा नपरी काम गर्न भनेका छौँ’, उनले भने ।
अवैध रुपमा कुनै पनि क्रसर उद्योग सञ्चालन हुन नपाउने भन्दै उनले मापदण्ड पुरा गर्न समस्या भए त्यसमाथि छलफल हने बताए । ‘लाइसेन्स नै नलिईकन अवैध रुपमा चलाउन पाउनुपर्छ भन्ने हुँदैन । लाइसेन्स लिन कति समय लाग्छ, त्यो चाहिन्छ भने चाँहि हामीले दिन्छौँ’, उनले भने ।










