चितवन । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग अन्तर्गत पर्ने हाकिमचोक–जगतपुर सडक खण्डको मापदण्ड सरकारले राजपत्रमा प्रकाशित गरेअनुसार हुनुपर्ने स्थानीयले माग गरेका छन् ।
पुस २७ गते बसेको स्थानीयको भेलाले हाकिमचोक–गितानगर–जगतपुर खण्डलाई नेपालको राजपत्रमा प्रकाशित भएको मापदण्डअनुसार विस्तार गर्न माग गरेको हो । उनीहरुले माघ २ गते स्थानीयहरुको हस्ताक्षर संकलन गरेर भरतपुर महानगरपालिका, सडक डिभिजन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी समेत गरेका छन् ।
सडक डिभिजन र भरतपुर महानगरले सडकको क्षेत्राधिकारबारे फरक–फरक मापदण्ड हुने बताएपछि स्थानीय अन्यौलमा परेका छन् । त्यसै कारण तीन वटा निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरिएको स्थानीय राजन कुमार श्रेष्ठले बताए ।










