चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हिजो (बुधबार) एकसिंगे गैँडा र पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अमलटाँडी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा अन्दाजी १५ वर्षको भाले बाघ मृत भेटिएको हो ।
निकुञ्जको नियमित गस्ती टाृलीले बुधबार दिउँसो ३ः२० बजेको समयमा उक्त मृत पाटेबाघ फेला पारेको निकुञ्जले जनाएको छ । निकुञ्जको जानकारी अनुसार बाघको मृत्यु प्राकृतिक कारणले भएको हो ।
त्यस्तैगरि चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा लिङ्ग नछुट्टिएको अन्दाजी ५ वर्षको एकसिङ्गे गैँडा मृत फेला परेको छ । बाघको आक्रमणमा परेर गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिए । निकुञ्जको नियमित गस्ती टोलीले उक्त गैंडा बुधबार विहान ११ बजे मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।
यससंगै चालु आव २०७९/८० को हालसम्म चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत्यु हुने गैंडाको संख्या आठ पुगेको तिवारीले जानकारी दिए ।











