काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने तर सरकार नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन्।
बिहीवार प्रतिनिधि सभाको शून्य समयमा सांसद आचार्यले सांसदहरूले शून्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टि जनाउँदै ‘शून्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरे।
उनले ‘ब्ल्याक होल’मा प्रकाशसमेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताए। उनले सांसदहरूले उठाएका जनताका पीडा, प्रश्न र राष्ट्रिय मुद्दा सुन्ने, टिपोट गर्ने र कार्यान्वयन प्रक्रियामा लैजाने व्यवस्था भएमा मात्रै शून्य समयको सार्थकता रहने बताए।
‘यदि यो शून्य समयमा हामीले बोलेका कुराहरु सुनिन्छन्, टिपिन्छन् र कार्यन्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन पूर्ण समय भनौँ’, उनले भने, ‘तर यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरु जति बोलेपनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शुन्य समय होइन, व्ल्याक होल समय राखौँ। ब्ल्याक होलमा प्रकाश समेत हराएझै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहीता र सरकारको जिम्मेवारी हराउन हुँदैन।’
उनले शून्य समयमा उठेका विषयहरु अभिलेखमा मात्रै सीमित नगर्न, तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन र निश्चित समयभित्र कार्यन्वयनको प्रगति सांसदलाई जानकारी गराउन माग गरे।












