काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका निम्ति सरकार नचुक्ने बताएका छन्।
बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए।
गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने पनि बताए। उनले उद्योगी व्यवसायीलाई आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गरे।
‘अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहा छैन। तर हाम्रो तर्फबाट तपाईंहरूलाई रेड कार्पेट छ । उद्योग,व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनै पनि कामले चुक्दैनौँ । सरकारले एउटा स्पेशल युनिट खडा गर्छ।’ उनले भने, ‘मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरूले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन ।’
उनले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए ।











