काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यसका लागि विभिन्न पार्टीहरूसँग कुराकानी भइरहेको बताए ।
‘विचार मिल्नेहरूसँग एकता पनि गर्नेछौ । हामी मोर्चा पनि बनाउनेछौ’, अध्यक्ष नेपालले भने, ‘ एकताबद्ध हुनसक्नेसँग एकता गर्नेछौं । विचार, सिद्धान्त, विधि र आचरण मिल्नेहरूसँग हामी मिलेर जानेछौँ ।’
नेपालले राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यो कुरालाई अन्य राजनीतिक दलहरूले पनि आत्मसात् गर्नसक्नुपर्ने बताए । भूमिका महत्त्वपूर्ण भएकाले पार्टीले सक्रियता पनि बढाउनुपर्ने उनले बताए ।
‘राष्ट्रिय राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेको मात्रै होइन, अहिले पनि हाम्रो महत्त्व उतिकै छ । त्यही भएर अहिले पनि हामीसँग छलफल गरिरहेका छन्’, उनले भने । आफ्नो गणतन्त्र बलियो बनाउने, संविधानको कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण होस् भन्ने उद्देश्य रहेको नेपालले बताए ।











