काठमाडौं । सत्ता साझेदार दलहरूको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। समितिमा प्रत्येक दलबाट १–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने निर्णय भएको छ।
आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा बारेमा पनि छलफल भएको मन्त्री लामिछानेले बताए। उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए। मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने मन्त्री लामिछानेको भनाइ थियो।
त्यस्तै, प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकार गठनबारे पनि दलहरूबीच छलफल भएको छ। प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ।
आजको बैठकमा सरकारलाई समर्थन गरेका सातै दलका नेता सहभागी हुने भनिए पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको मात्र उपस्थिति थियो।










