काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् ।
प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन दाहाल ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् । बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवासमा गृहप्रवेश गरेको उनको सचिवालयले जनाएको छ ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहानमात्रै बालुवाटार छोडेका थिए । डेढ वर्षअघि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवा अहिले फेरि प्रधानमन्त्री बन्नेमा आशावादी थिए ।
यही बीचमा उनको बुढानिलकण्ठस्थित निजी निवास मर्मत सम्भारको काम प्रारम्भ भएको थियो । तर, अचानक बालुवाटार छोड्नुपर्ने भएपछि धुम्बाराहीमा घर खोजेर डेरा सरेका हुन् ।













