काठमाडौँ। गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई कुटनैतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरेको छ ।
यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागीय स्वीकृति लिएर भेट गरेको वा नगरेकोबारे अनुगमन गर्न गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन गरेको छ ।
बिहीवार विज्ञप्ति जारी गर्दै विभागको अनुमति नलिइ र स्पष्ट प्रयोजनबिना भेटघाट गरेको पाइए अनुशासनसम्बन्धी कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले प्रहरीले कर्तव्यपालनको सिलसिलामा बाहेक अन्य समय नेता वा कूटनीतिक नियोगका कर्मचारीलाई भेटे कारबाही गर्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कतिपय पदाधिकारी कर्तव्यपालनको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र गर्नुरगराउनुहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनुहुन अनुरोध छ।’










