लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो ।
मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि आहारा अपुग भई गिद्ध देखिन छाडेको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महिलवारका चराप्रेमी भोला गुप्ताले बताए । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पक्षी हो, गिद्ध । चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ ।
गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । गिद्ध आफैले सिकार गर्दैन । यसले मरेका जनावरका मासु (सिनो) खाने गर्दछ । गिद्धले सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ । यो पर्यावरणीय चक्र, सनातन खाद्य शृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो ।
“केही वर्ष पहिला गिद्ध सिनो फालेको आधा घण्टाभित्रै पुगी सफा गर्दथे”, गुप्ताले भने, “अचेल गिद्ध नआउँदा गाउँ नै दुर्गन्धित हुने गरेको छ ।” सिनोलाई कुकुर–स्यालले चिथोर्ने गर्दा वातावरण झनै दुर्गन्धित हुने गरेको उनको भनाइ छ । समयमा सिनो सफा नभए कुकुर, काग, स्याल र मुसाको सङ्ख्यामा वृद्धि हुन्छ । फलस्वरुप मानिसमा हैजा, आउँ, झाडापखाला, रेविज, प्लेगजस्ता रोगका साथै चौपायामा एन्थ्रक्स, ब्रुसेलोसिस र टिबीजस्ता रोगको सङ्क्रमणले महामारीको रूप लिन सक्छ ।
पर्यावरणीय सुरक्षाका लागि उपयोगी गिद्धको सङ्ख्या कम हुनु चिन्ताको विषय भएको हिन्दू परिषद् नेपालका प्रवक्ता तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का पण्डित ओमकार पाण्डेले बताए । उनले भने, “गिद्धको सेवा र संरक्षण हाम्रो दायित्व हो ।” “त्रेतायुगमा सीता हरण हुँदाको दुःखदायी समयमा जटायु र सम्पाती नामक गिद्धले भगवान रामलाई सहयोग गर्नुभएको थियो”, उनले भने, “गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणीमात्रका लागि पूजनीय छ ।”
धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने लामा समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रूपमा पुज्ने गर्छन् । नेपाल, भारत र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको सङ्ख्यामा ह्रास आउनुको मुख्य कारण नन्–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनेक भएको पशु चिकित्सक अशोक भण्डारीले बताए ।
“धेरै प्रकारका दुःखाइ र सुन्निने अवस्थामा औषधिको रूपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक औषधिको प्रयोग गरिन्छ”, उनले भने, “डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईवस्तुको सिनो गिद्धले खाँदा त्यसको असरका कारण मिर्गौलाले काम नगर्ने भई उनीहरू मर्ने गरेको पाइएको छ ।”
डा भण्डारीले भने, “पछिल्लो अनुसन्धानले फ्लुनिक्सिन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेन र फिनाइबुटाजोनलगायत औषधि गिद्धका लागि विषाक्त मानिएको छ ।” यो औषधि गिद्धका लागि हितकर नभएको उनले बताए । त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्याम र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड सुरक्षित मानिएको डा भण्डारीले बताए ।
सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ । मानिसले अन्य जनावरलाई लक्षित गरी सिनोमा विष राख्दा तथा अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युतीय तार आदिले पनि सानो सङ्ख्यामा जीवित रहेका ठूलो कदका गिद्धलाई सङ्कटमा पारेको छ । रासस














